Saturday, April 9, 2016

खुकुलो शैली तर खँदिलो प्रस्तुती : तादी किनारको गीत

गाउँको कथा लेख्ने लेखक पनि गाउँमै जन्मिएको हुनुपर्छ । नजन्मिए पनि हुर्किएको चैँ हुनुपर्छ । नहुर्किए पनि गाउँ बुझेको भने हुनैपर्छ । त्यहाँको समुदाय, संस्कार, रिति थितीका बारेमा अध्ययन गरेको हुनुपर्छ । एउटा अलग ठाउँमा जन्मिएको लेखकले अर्को अलग ठाउँको व्याख्या कसरी गर्छ होला ? देशको एउटा फरक भागबाट अर्को फरक भागको बारेमा के सोच बनाउँछ होला ?

नेपालको सुदुर पूर्वी जिल्ला ईलाममा जन्मिएर/हुर्किएर पनि लेखक महेश पौड्यालले देशको मध्य भागको एउटा अति नै सिमान्तकृत समुदायका बारेमा कसरी अध्ययन गर्न सक्नुभयो होला ? जन्म अनी कर्म बिल्कुलै फरक भौगोलीकतामा भईकन पनि कसरी अर्को भूगोलको कथा लेख्न सक्नुभो होला ? पौड्यालको सानो (लघु ?) उपन्यास तादी किनारको गित पढ्दै गर्दा यस्ता सयौँ प्रश्नहरु मनमा आई नै रहेथे ।
तादी किनारको गीत माझी समुदायको कथा हो । खोलाको किनारमा बसेका अती सामान्य एउटा समुदायको कथा हो । सिंगो नेपालको कथा बोक्ने यस कृतिले हामी रहेकै समाजको कथा बोलेको छ । उहि रुढी सोच, अशिक्षा, पिछडापन, जातभात, धर्मान्धता अनी संस्कारको नाममा चलेको कुसंस्कारको नालीबेली । लेखकले उभ्याएको समाज पनि आम समाज जस्तै उहि पछौटेपनमै अभ्यस्त समाज छ । वर्षौँदेखी देखिँदै आएको, चल्दै आएको, भनिँदै आएको अथवा लेखिँदै आईएको उहि कथालाई पौड्यालले पनि सरक्कै पक्रिएको देखिन्छ ।
लेखन शैली परम्परागत छ । बाल मनोवैज्ञानिक जस्तो लाग्ने कथाको प्रवाह तानीरहने खालको छ । ग्रामीण भेगमै जन्मे/हुर्केका मजस्ताहरुका लागी त यसले प्रभाव नपार्ने कुरै भएन । माझी समुदायको सुख–दुखको कहानी मिठो छ । लखुम, दुखिनी, बिकवा, मालश्री, माबु लगायत उपन्यासका अन्य पात्रहरु आ–आºनो ठाउँमा आ–आºनै फरक फरक अस्तित्व बोकेर शक्तिशाली बनेर कथामा बगेका छन् । उपन्यासमा देखाईएको समाज र त्यहाँको संस्कार र संस्कृतीलाई पनि उपन्यासमा बुझिने गरी प्रस्तुत गरिएको छ ।
नेपाली साहित्यको अति सामान्य पाठकले पनि सहजै बुझ्न सक्ने यो पुस्तक आकारका साथै प्रस्तुतिका हिसाबले पनि अति नै सहज छ । सरल भाषा, सरल शैली अनी अति नै सरल प्रस्तुती । अध्यायका आधारमा चार भाग  लगाईएको ९१ पृष्ठको यो आकारले सानो तर विषयले गतिलो पुस्तक एकै बसाईमा पढि सकिने खालको छ ।


पुस्तक : तादी किनारको गीत
बिधा  : उपन्यास
लेखक : महेश पौड्याल
पृष्ठ   : ९१
मुल्य  : २०५









No comments:

Post a Comment