युवा परिचालन नै राष्ट्र विकासको मुलभूत तरिका हो। देशको नवनिर्माण नै युवाको हातमा छ, भन्दा पनि नाजायज नठहर्ला। जनशक्ति छ, तर त्यसको सही उपयोग भएन अथवा सही परिचालन हुन सकेन भने त्यो हुनु र नहुनुको के अर्थ र ? भनौं न, जनशक्ति हुनु र नरहनुमा कुनै अन्तर रहँदैन।
देशको मुटु हो युवा। युवा बन्छ त देश बन्छ। राष्ट्रको दरिलो जनशक्ति र प्रमुख सञ्चालक पनि युवा नै हो। देश विकासको चाबी युवासँग छ। देश कतिसम्म विकसित हुने वा विकास निर्माण कसरी गर्ने भन्ने कुराको लेखाजोखा युवाको सही प्रयोग, परिचालन र सही सञ्चालनमा निर्भर रहन्छ। शक्तिको विशाल स्रोत युवाकै मुठ्ठीमा छ। तर बिडम्वना भनौं, हामीसँग त्यो स्रोतको उपयोग भइरहेको छैन। त्यो शून्यप्रायः छ। अथवा छँदै छैन। अझ सरकारी लगानीका हकमा त बिल्कुलै छैन।
युवाको ठूलै जत्था मुलुकबाहिर छ। बिदेसिएकाहरूको ठूलो जमात बेरोजगारीको जर्जरताले कुल्ली भिसामा समुद्रपारि छ। केहीलाई युरोपेलीहरूले लगे। केही भारततिर चौकीदारी गरिरहेछन्। केही खाँडीमा छन्। त्यो शक्ति त्यसै खेर गयो। अनि यता बचेखुचेकाहरूमा पनि उति साह्रो उत्साह छैन। उदासिनता छ। निर्विकल्प छन् सबै। अल्मल्याइको चपेटामा चेप्टिएका छन्। अनि हामीले आशा गर्ने ठाउँ के र≈यो र ? हामीलाई यो सोच्ने माध्यम के बच्यो र, कि युवा परिचालनले अब हाम्रै देश पुनर्निर्माण हुँदै छ ?
जिम्मेवारी लिने कसले, यी कुराको। सरकार, गैरसरकारी समाजका अगुवाहरू, या त युवा आफैं। यो प्रश्न आफैंमा विकराल बनेर हामीपट्टि बांगिएको छ। सरकार उदासिन छ। ऊ रोजगारी दिन सक्दैन। भरसक युवा धपाउन चाहन्छ। किनभने, वर्षेनी नेपाली श्रमबजारमा भित्रिने लाखौं युवालाई धान्ने कसरी ? कसरी रोजगारी दिने ? र तीतो यथार्थ यो छ कि, विगतमा सरकारले गरेका हजारौं श्रम सम्झौताले यस कुराको प्रमाण दिन्छ। मन अमिलो पार्दिन्छ। ती तमाम श्रम सम्झौताहरू जो खाडी मुलुकदेखि लिएर कोरीया–जापानसम्म गरिए, त्यसको नियत के त ? सरकारको वदनियत यसैबाट प्रस्ट हुन्छ।
युवासँग जोश छ। केही होस् पनि छ। उत्साह छ। लगनशीलता सिकाएमा त्यो पनि छ। नवीन सोच छ। सिर्जनात्मक दिमाग छ, कर्मठ हात छ। केही नौलो गरौं भन्ने साहस छ।
तर त्यसको प्रयोग कहाँनेर भइरहेको छ ? कतिसम्म भइरहेको त ? पुँजीबिना केही सम्भव छैन। समस्या यो छ कि ठूलो काम आँट्ने हामीमा ल्याकत छैन। अथवा विकल्प छैन। लगानी गर्यो, ग्यारेन्टी कसले दिने ? अनिश्चितता र उच्च जोखिममा कसैले पनि हात हाल्दैन। अनि बिनाप्रतिफल र रित्तो आशमा कसले पो गर्छ होला र लगानी। नेपालका कलेज अनि युनिभर्सिटीहरूले वर्षेनी हजारौंको संख्यामा शैक्षिक जनशक्तिहरू उत्पादन गर्छन्। कोरा सैद्धान्तिक ज्ञान नै सही, ती अर्धबौद्धिक क्षमताले भरिएर र केही सीपमूलक भएरै बजारमा उत्रिन्छन्। पहिलो जिम्मेदारी त सरकारकै हुनुपर्ने हो, ती जनशक्तिहरूलाई व्यवहारिक ज्ञान दिलाएर उत्पादनमूलक एवं विकासमूलक कार्यमा खटाउने।
ती जनशक्ति कहाँ बिलाउँछन् त उसो भए ? जो यहाँ पढाइ सकेर युनिभर्सिटीको सर्टिफिकेट बोकेर निस्किन्छन्। ती आफ्नो कार्यक्षेत्र कता हो भन्ने दोधारमै अल्मलिन्छन्। हामीलाई यस्ता कुराहरू खेलाँची झैं लाग्छन्। हामी सोच्ने पनि गर्छौं, यो कुनै ठूलो मुद्दा होइन। २ वर्ष विदेश बस्दा ८⁄१० लाख कमाइ भइहाल्छ। केको नानाथरी बहस। हाम्रै आसपासका कति दाजुभाइहरू विदेश गइसकेका होलान्। तिनीहरूको जीवनस्तर कस्तो छ त ? त्यो विदेशी पैसाको उपयोग कहाँ भयो त ? रेमिट्यान्सले ठडिएका सानदार घर सिवाय हामीसँग देखमउन लायक उपलब्धि सायदै अरू छैनजस्तो लाग्छ, विदेशमा गरेको श्रमको। र यसैलाई नै आधार मान्दा पनि नेपाली शारीरिक शक्ति प्रत्येक वर्ष त्यसै खरानी भइरहेछ।
वर्षेनी कति नेपालीले विदेशमा पढ्नलाई छात्रवृत्ति पाउँछन् ? कतिले पढाइ पूरा गर्छन् ? कति नेपाल फर्कन्छन् ? यसको स्पष्ट तथ्यांक पत्ता लगाउन मुश्किलै छ। तथापि मोटामोटी तथ्यांक हेर्दा हरसाल १० हजारमाथि नेपाली विद्यार्थी बिदेसिन्छन्, पढ्नकै लागि। र त्यसको आधा फर्किए भने पनि आधा चाहिँ उतै अवसर खोज्छन्। तुलनात्मकरूपमा आर्थिकस्थिति समान नभएसम्म अथवा पारिश्रमिकमा अपेक्षित सुधार नभएसम्म हामीले ती दसौं हजार विद्वान् वर्षेनी गुमाउनुपर्ने हुन्छ। जसरी हामी वर्षेनी हजारौं संख्यामा लेवर फोर्स गुमाइरहेका छौं। एउटा भयावह भविष्य हामीसामु आइरहेछ। भावि सन्ततीलाई हामीले कमाएका ताकतका बारेमा बताउनुपर्दा पक्कै पनि हाम्रासामु जवाफ रहनेछैन। धु्रवसत्य कुरा यति हो।
(Published on Nepal Samacharpatra on 2072-09-12)
http://www.newsofnepal.com/?p=99402Nepal Samacharpatra
No comments:
Post a Comment