Sunday, March 27, 2016

नेपाल संस्कृतिक विविधतामा धनी मुलुक

 हाम्रो परिवारले वर्षमा दुई पटक गोठपूजा⁄कुलपूजा गर्ने गर्छ । मैले सानैदेखि देखेर आएको छु, हजुरबाले पूजा गर्ने विधिलाई । उहाँले पढ्ने तन्त्र–मन्त्र, कुल मन्त्राउने विधि, नौलो पूजा अनि कुलदेवीलाई दिइने भोग । हजुरबाले महारुद्र पुज्नुहुन्थ्यो, सिमेभूमे–नागनागिनी, खोला–खोल्सी, पहाड, जंगल, ढुंगा–माटोलगायत चराचर जीवजन्तुलाई एक–एक गरी अथवा समष्टिमा भोग लगाइन्थ्यो । बूढासुब्बा सुब्बेनीलाई अलग्गै भोग । त्यो पूजाविधि ब्राह्मणको मात्र थिएन । अलिकति ब्राह्मण विधि, अलिकति स्थानीय प्रभाव अनि ज्यादाजसो लिम्बू संस्कृतिबाट सापटी लिएको जस्तो । यो कुरा भोग लगाउँदा फलाक्ने मन्त्रबाटै पुष्टि हुन्थ्यो । त्यो मन्त्र संस्कृतको श्लोक थिएन ।

त्यस्तै प्रत्येक दशैँमा हजुरबा नौलो पूजा गर्ने गर्नुुहुन्थ्यो । कुनै राईको बिजुवा बोलाउनुहुन्थ्यो अथवा बिजुवा नभेटिए कुनै भुजेल थरका धामी बोलाउनुहुन्थ्यो । पछि हजुरबा थला परेपछि हाम्रो परिवारमा नौलो पूजा हुन छाड्यो । तर केही वर्ष भयो बुबाले त्यसलाई निरन्तरता दिँदै हुनुहुन्छ । पल्लो गाउँका एक भुजेल धामी आएर नौलो पुज्ने गर्छन् ।
हाम्रो गाउँदेखि केही माथि डाँडामा बुद्ध पूर्णिमाका दिन लामा पढाइन्छ । आठ–दश जना लामाहरू एक लहरमा बसेर मन्त्रोच्चारण गर्ने गर्छन् । मैले सानै उमेरदेखि देखिआएको छु । आमाले हामीलाई त्यहाँ बत्ती बाल्न लिएर जानुहुन्थ्यो । म एकटक लागेर मन्त्र पढ्दै गरेका लामाहरूलाई हेर्ने गर्थें । बुद्धप्रतिको मेरो अगाध आस्था बढाउन यो पर्व निकै महत्वका साथ रहिआएको छ आजका दिनसम्म पनि । र, यो अर्काको धर्म भन्ने मेरो दिमागले आजका दिनसम्म पनि सोच्न सक्दैन । वास्तवमा हामी यही कुराले संस्कृतिमा धनी छौं ।
संस्कारले व्यक्तिलाई सभ्य बनाउँछ । कहिलेकाहीँ धर्म पनि संस्कारसँगै जोडिएर आउन सक्छ । तर कुरोको चुरो हेर्ने हो भने संस्कार र धर्म विशुद्ध अलग चीज हुन् । संस्कार धर्मभन्दा फरक कुरा हो । धर्ममा देवता, भगवान् आवश्यक छन्, व्यक्तिको अन्धता आवश्यक छ, एउटा निराकार काल्पनिक संसार आवश्यक छ, एउटा शक्ति आवश्यक छ, चमत्कार आवश्यक छ । तर संस्कारले ती कुनै कुरा माग्दैन । संस्कार पुर्खासँग जोडिएर धर्मलाई नछोई पनि व्यक्तिको दैनिकीसँग गाँसिएर रहन सक्छ ।
धर्मको अन्धताले मानिसलाई रुढ बनाउँछ । रुढि सोचले अपराध जन्माउँछ । समाजमा अन्धधर्मभीहरूले निम्त्याएको नकारात्मक प्रभाव पनि हामीले देखेकै त छौँ । कसरी एउटा कलिलो बच्चोको बलि चढ्छ, कसरी एउटी विधवा जिउँदै जलाइन्छे, कसरी एउटी नाबालिग बच्ची छाउपडीमा राखिन्छे, कसरी समाजमा विभेद जन्मियो, कसरी आधुनिक समाजका सभ्य भनाउँदा मानिसमा पुरातन सोचले जरा गाडिरह्यो ? प्रश्नको झटारो सीधै धर्ममा गएरै अड्किन्छ । हो, संस्कार हराएको धर्म विकृत बन्दाको प्रतिफल यस्तै हुन्छ । धर्मले सधैँ सही प्रभाव मात्रै राख्छ अथवा धर्मले व्यक्तिलाई सुमार्गमै डोर्याउँछ भन्नेहरूले धेरै प्रश्नहरूको अभैm पनि जवाफ दिन बाँकी नै छ । हो, जे चीजले समाजलाई बाँध्न सक्नुपथ्र्यो त्यही चीजले नै समाजलाई किन बार–बार फुटाइरहेछ त ?
संस्कृतिले हामीलाई कति जोड्यो त उसो भा ? भन्नेले जे भने पनि अभैm पनि दशैं हाम्रो साझा चाड छ । तिहारको रौनकले सारा देशलाई एकठाउँ उभ्याएकै छ । चाहे संक्रान्तिको रौनक होस् वा होलीको रमाइलो, चाहे उँधौलीको उल्लास होस् वा ल्होसारको ताजगी । क्रिस्मस, ईद, बुद्ध पूर्णिमा, जनै पूर्णिमा, स्वस्थानी, शिवरात्रि, कृष्णाष्टमी, माघी, हरेकले हरेक जात या सम्प्रदायलाई अलग–अलग तरिकाले अलग–अलग प्रभाव पारी नै राखेको हुन्छ । जुन धर्मभन्दा अलग भएर संस्कार र संस्कृतिको रुपमा परिभाषित भएका छन् । हाम्रो जस्तो मिश्रित समाज व्यवस्थामा यसले एक–अर्कामा भाइचाराको भावना विकास गर्नमा महत्वपूर्ण भूमिका जरुर खेलेको छ ।
संस्कृति समाजको गहना हो । अझ गहिरिएर हेर्ने हो भने त्यो राष्ट्रकै गहना हो । यसले समाजलाई मिलापमा लिएर जान्छ । आपसी समझदारी, आपसी मिलाप अनि आपसी सद्भावका लागि पनि संस्कृति अझ महत्वपूर्ण छ । साँच्चै समाजभित्र अथवा समाजभन्दा बाहिरिएर सोच्ने हो भने संस्कृतिले हामीलाई एक–अर्कामा बाँधेकै छ ।
नेपालको बहुसांस्कृतिक विविधताले नै हामीलाई हामी बनाएको छ । आपसी सहिष्णुता अथवा भाइचारा अथवा धार्मिक सद्भावले हामीलाई हामी भइराख्न मद्दत गरेको छ । यसलाई बचाइराख्नु हाम्रो कर्तव्य हो । विशेषतः युवाहरूको कर्तव्य हो, समाजका हरेक व्यक्तिको कर्तव्य हो ।

(Published on Nepal Samacharpatra on 2072-11-05)


http://www.newsofnepal.com/?p=101025Nepal Samacharpatra

No comments:

Post a Comment