Monday, March 21, 2022

अनुवाद- कुकुरको लडाईँ

 


दुई नेताको घर एउटै टोलमा थियो । अलग पार्टिका थिए । तर घर भने लगभग जोडिएको थियो ।

दुवैले एक-एक कुकुर पालेका थिए । कुकुर जब्बर थिए । देख्दै डरलाग्दा । कुकुर यति डरलाग्दा थिए कि बाटोमा हिँड्ने बटुवाहरू पनि डराई- डराई सडकको पल्लो किनाराबाट हिँड्ने गर्थे ।

एक दिनको कुरा हो ।

कसरी कसरी दुवै कुकुर घर बाट फुत्किएर सडकमा लडाइँ खेल्न थाले । निमेषभरमै दुवै नेता सडकमा आए । आ-आफ्ना कुकुर सम्हाले । कुकुर पनि आफ्नो मालिक पाउनासाथ टांगमुनि लुसुक्क घुस्रिएर लेपासिए ।

पहिलो नेता चिच्यायो - दश चोटि भनेँ हुँला, आफ्नो कुकुरलाई बाँधेर राख्नुस भनेर !

दोस्रो नेता झनै चिच्यायो - तपाईँ चैँ आफ्नो कुकुर सम्हाल्नुस् न ! त्यही पहिला सडकमा निस्किएको हो । मेरो कुकुरलाई उक्साउँदै भुक्ने तपाईँकै कुकुर हो । था छैन, कुन जातको कुकुर हो !

- तपाईँकै होला चोर जातको कुकुर ।

- चोर त तपाईँ हो हजुर ! कुकुरको त के कुरा गर्नु ! जस्तो मालिक उस्तै कुकुर !

- जो चोर उसकै ठूलो स्वर ?  ठेकेदारसँग कमिसन असुलेर यत्रो घर ठड्याएर बस्नुभाछ । अझ फूर्ती लाउनुहुन्छ !

- फूर्ती चैँ नलाउनुस् के मसँग ! साधु बन्न नखोज्नुस् ! स्मग्लरसँग मिलीबाँटीमा सम्पत्ति जोड्नुभाछ ! जनताको अगाडी चैँ स्वच्छ छविको नेता ?

- हो हो । जनतालाई सब था छ । अर्वौँको सम्पत्ती, घर, गाडी, शेयर कसको कति भन्ने त ! चुनाव आउँदै छ नी ! सब देखिन्छ ।

मालिकका टांमुनी घुस्रिएका कुकुर पनि घुर्न छाडेर छक्क पर्दै अन्यौलका नजरले एक-अर्कालाई हेर्न थाले ।

- भन्द्‍या छु, तपाईँको कुकुर मेरो घर छेउ देखेँ मात्रै भने नि गोली हान्दिन्छु ।

- तपाईँको कुकुर पनि यता देखेँछु भने गोलि हान्दिन्छु । कुकुर सँगै मान्छेलाई पनि ।

- तँ मलाई गोली हान्छस् ? साला कुकुरको छाउरा !

- के भनिस् ? मुख सम्हालेर बोल् मुजी ! साला सुँगुरको बच्चा !

एकै छिनमा त्यहाँ ठूलै भिड जम्मा भयो ।

सारा टोलबासी जम्मा भएर तमासा हेर्न लागे ।

त्यसैबिचमा एउटा बटुवा कतैबाट आएर भिडमा घुस्रिँदै कसैलाई सोध्यो - के लफडा हो हजुर ?

भिड भित्रैबाट कसैले जवाफ दियो - केहि हैन, कुकुरको झगडा हो ।


मुल अनुवाद

चोपडा साहब र साहनी साहबको घर जोडिएको थियो । बिचमा एउटा पर्खाल थियो । दुबैले एउटा- एउटा कुकुर पालेका थिए । दुवै कुकुर यति भयंकर र भयानक थिए कि टोलबासीहरू पनि डराई डराई सडकको पल्लो किनाराबाट हिँड्ने गर्थे ।

हुन त चोपडा साहब र साहनी साहबको स्वभाव अनि व्यक्तित्व नै यस्तो थियो कि उनिहरूलाई अलग्गै कुकुर पालीराख्नुपर्ने जरूरत भने थिएन । उनिहरू नै काफी थिए आफैँमा ।

एक दिन कसरी हो चोपडा साहबको कुकुर साहनी साहबको कम्पाउण्डभित्र घुसेर हो या साहनी साहबको कुकुर चोपडा साहबकोमा घुसेर हो-दुई कुकुर लडाइँ खेल्दै सडकमा निस्किए ।

चोपडा साहब र साहनी साहब पनि तुरुन्तै सडकमा आए । सुरुमा त उनिहरूले आ-आफ्ना कुकुरहरू सम्हाले । कुकुर पनि आफ्नो मालिक भेट्नासाथ पुच्छर लुकाउँदै मालिकका टांगमुनी घुस्रिँदै लेपासिन थाले ।

चोपडा चर्को स्वरमा करायो - दश चोटी भनेँ हुँला, आफ्नो कुकुर सम्हालेर राख्नुहोस् भनेर ।

साहनी अझै चर्को स्वरमा चिच्यायो - तिमी आफ्नो कुकुर सम्हाल न ! त्यही पहिला मेरो कम्पाउण्डमा घुसेको थियो । था छैन कुन जातको कुकुर हो !

- चोर जातको कुकुर होला तिम्रो चैँ ।

- तिमी आफैँ चोर जातको हौला ! कुकुरको त के कुरा गर्नु ! जस्तो मालिक त्यस्तै कुकुर ।

- चोर त तिमी हो हजुर । ठेका- पठ्ठा मा घोटाला गरेर घर ठड्याएका छौ । अझ फूर्ती लाउँछौ !

- तिमी झनै चार सौ बिस हौ । हाम्लाई था छैन र ? स्मग्लिङ्ग गरेर ठाँट देखाउँछौ ।

दुवै कुकुर आ- आफ्ना मालिकका टांगमा टाँसिँदै मालिकलाई अरू प्रोत्साहित गरिरहेका थिए ।

- भन्द्‍या छु, तिम्रो कुकुर फेरी यता देखेँछु भने गोली हान्दिन्छु ।

- तिम्रो कुकुर नि यता आएछ भने गोली हान्दिन्छु म पनि ।  कुकुर सँगै मान्छेलाई पनि ।

- तँ मलाई गोली हान्ने ? साला कुकुरको छाउरा !

- के भनिस् ? मुख सम्हालेर बोल् ! तँ साला सुँगुरको बच्चा ।

एकै छिनमा त्यहाँ ठूलै भिड जम्मा भयो ।

सारा टोलबासी जम्मा भएर तमासा हेर्न लागे ।

त्यसैबिचमा एउटा बटुवा कतैबाट आएर भिडमा घुस्रिँदै कसैलाई सोध्यो - के लफडा हो हजुर ?

भिड भित्रैबाट कसैले जवाफ दियो - केहि हैन, कुकुरको झगडा हो ।

(नोट: प्रसिद्ध भारतिय व्यंगकार हरिशंकर परसाईँ द्वारा लिखित 'लडाईँ' को नेपाली अनुवाद हो यो । जुन रचना उनको पुस्तक विकलांग श्रद्धाका दौर मा संग्रहित छ ।)

- नेपालखोज २०७८/१२/०६ मा प्रकाशित

Original link- कुकुरको लडाइँ https://www.nepalkhoj.com/2022/03/20/167713/?fbclid=IwAR2yCfeYb3v69GJJl40Mhhsx6EuD3EATZFKJ5Q7a-c1B-fwyMSXuoeBEftU


Friday, March 18, 2022

कविता- कहर

फोक्सोमा भरेर एकै मास्क श्वास,

बोकेर रगतमा दुइ सिरिन्ज खोप,

भाइरस र भाइरलका बिगबिगी बिच

सामाजिक दुरीले दु.............र बनाएको आफ्नै समाज,

अनी

समाजभित्रै असामाजिक हुँदै गएको आफ्नै अस्तित्व ।

कहर र जहर बिच रूमल्लिएको एक मगज डरमा

'सावधान रहौँ सतर्क रहौँं' भन्दै एक मुठी आस समेत नदिलाई

तपाईँ उल्टै प्रश्न गर्नुहुन्छ,

हालखबर त ठिकै छ नी ?

अब म तपाईँलाई के जवाफ दिऊँ ?

Wednesday, March 16, 2022

नेपाली हुनुको पिडा



एउटा औसत नेपाली हुनु पनि कति तनावको कुरा हो हेर्नुस् न! 

चुनाव मुखैमा आइसको । क-कसको पो गठबन्धन बन्ने हो थाहा छैन । गाली गर्नुपर्ने र समर्थन गर्नुपर्ने अझै कित्ता-काट गरिसकेका छैनन् नेताहरुले । मुख चिलाएर बसिनसक्नु छ यता । 

उता पल समिक्षाको काण्ड सेलाउन पाएकै छैन कताबाट प्रकाश सपुत झुल्किहाले । त्यसमा नि धित मर्ने गरी बोल्न सकिएको छैन । पललाई कतै जेलमै सडाउने पो हुन की? सम्झिँदा पनि निद्रा लाग्दैन । 

भारतसँग लफडा नभएको पनि जुग बितिसको । बिस्तारबाद मुर्दाबादको नारा लाउने कैले हो अब! धन्न बिचमा एम.सि.सि. कताबाट आएछ त अलिलि मुखको चिलाई मर्यो (कसै कसैको त ढाडको चिलाई पनि राम्रै मर्यो होला)। तर अझै आँत भर्ने गरि त पुगेकै छैन । 

उता रुसले युक्रेनलाई हान्या हान्यै छ । यता आफ्नै घरको संकटले बिचमा आफैलाई हानेको भएर रुस-युक्रेन संकटमा ध्यान दिन पाको छैन । ऐल्यै त एटम हानिनहाल्ला । तेल सम्म रोकिदिन्छ त्यो चैँ मैले पैलै अड्कल लाको हो । फेसबुकमै ठोकुवा गरेको थिएँ । 

अझ दुःख हेर्नुस् न! रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने कुरा यतिकै सेलायो । धुर्मुसलाई अर्थमन्त्री दिने, कुलमानलाई उर्जा, महावीर पुनलाई विज्ञान, रमेस खरेललाई गृह लगायतका मन्त्रालयहरु छुट्ट्यार त्यती राम्रो मन्त्रीमण्डल प्रस्ताव गर्दा पनि कसैको घैँटोमा घाम लाग्या हैन । राम्रा मान्छेलाई काम गर्न त काँ दिन्छन् र नेपालमा?

 सरकार युट्युबलाई नियन्त्रण गर्न खोज्दैछ रे भन्ने सुन्दैछु । अब पुण्य गौतमका महान विचारहरु कता पो सुन्नु? धन्न भिम उपाध्धे फेसबुकमा छन् र बेला बेला दिव्य ज्ञान लिन मिलिरहेको छ ।

 महानायक महानायिकाको विवादमा पुरै बोल्नै नपाइ विवाद नै सेलायो । कस्सो कस्सो एउटा पोस्ट फेसबुकमा पोस्टयाउन पाएँ । नत्र त्यो नि खेरै जाने । 

तनाव कति छ भने हेर्नुस्, भनेर साध्धे नै छैन । 

आजकल कामको चाप अलिक बढेर होला फेसबुक खोल्न भ्याइँदैन । जाबो ८-१० घण्टा हेर्यो चित्त बुझायो । अनि युट्युब कतिबेला हेर्नु?  टिकटक कतिबेला हेर्नु? एकैछिन ढिला भो कि को अग्गी को कतिबेला भाइरल भइओरी गायब भइसकेको हुन्छ । 

अफिसको तनाव आफ्नै ठाउँमा छ, घरमा भुटुन सिध्धेको हिँजै हो, गोजिमा सुको खोज्दा ल्वांग सुकमेल बाहेक अर्थोक आउँदैन । 

अनि यति स्यानो मगजमा यति धेरै तनाव कसरी थामेर बस्या छु, अचम्म लाग्दैन तपाइँहरूलाई? 

Friday, March 11, 2022

पुस्तक समिक्षा(आकाशमुखी) - मोहन मैनालीका नाममा


 

पुस्तकको पठन व्यक्ती अनुसार फरक फरक हुन सक्छ । पढ्ने व्यक्तिको उद्देश्य अनसार विवधता हुन सक्छ ।  कुनै पुस्तक ज्ञान लिनका लागी पढिएको हुन सक्छ, कुनै परिक्षामुखी भएर, कुनै मनोरंजनका लागी, कुनै मुड फ्रेस गर्न, कुनै सन्दर्भ श्रोतका रूपमा त कुनै यसै आत्म सन्तुष्टिका लागी पनि पढिएको हुन सक्छ । पठनको यही विवधता र सौन्दर्यबारे मोहन मैनाली अनूदित कृति आकाशमुखीमा एक वाक्यले भन्छ 'कुनै किताब चाखे मात्रै पुग्छ । कुनै किताबलाई निल्नुपर्छ । अनि कुनै किताबलाई चाहिँ चपाएरै पढ्नुपर्छ ।' यो भनेको के हो भने किताबको गुण, गहनता अनि किताबले दिन र भन्न चाहेको कुरा र पाठकले खोजेको र लिन चाहेको कुरा बिचको तादात्म्यता कतिको मिल्छ भन्ने कुरामा पनि हो । किताब फगत चाख्‍ने या चाट्ने मात्रै हो या चपाउने र निल्ने पनि हो सोको निर्क्योल हातमा भएको किताबको गुण, किताबले प्रस्तुत गरेको विषय, किताब पठनको उद्देश्य अनी त्यसलाई पचाउन सक्ने पाठकिय क्षमता के र कति छ भन्ने कुराको संकेत पनि हो ।

मोहन मैनालीका किताबहरू यस्तै जब्बर खालका हुने गर्छन् । विवधताले भरिएका हुने गर्छन् । जस्तो सुकै पाठकले, चाहे जुनसुकै उद्देश्य राखेर पढेपनि त्यहाँ आफैँलाई पाउने खालका हुने गर्छन् । जसलाई चाख्दा मात्रै पनि स्वादिला छन्, चपाउन मिहिन छन्, निल्न सहज छन् अनि आरामले पचाउन सकिने पनि छन् ।  तर त्यसको पौष्टिकता र तिनले दिने पोषण जुनसुकै उद्देश्य राखेतापनि लाभदायक नै छन् । मैनालीको भाषा-शैली र लेखनको तागत नै यस्तो छ कि मानौँ कुनै पोषिलो खाना खाएझैँ लामो समय उर्जा मिलिरहने खालका छन् ।

मेरा लागी मोहन मैनाली समकालिन नेपाली साहित्यमा गतिलो लेख्‍न सक्ने बिरलै लेखकमध्ये एक हुन । अरूका लागी अरू पनि होलान् । तर मेरा लागी उनी अनुकरण गर्न सकिने मध्येमा औँलामा अँटाउने एक हुन् । अझ यात्रा साहित्यमा त एक्लो वृहस्पती नै सहि । उनी हुन् । त्यो किनपनि भने, उनको भाषा गज्जब लाग्छ, शैली गज्जब लाग्छ, विषय चयन, विषयवस्तुको छनौट गज्जब लाग्छ । आफ्नै वरिपरीका कुराहरू, आफैँले देखिरहेका कुराहरू जस्तो गरी हरेक चिजलाई बुझिने गरी यसरी प्रष्ट लेख्छन्, मानौँ त्यो मेरै छेउ-छाउको घटना होस्। मेरै आँखा अगाडीको घटना होस् । जुन अहिले भर्खरै घटिरहेको छ । आँखै अगाडी । कस्तो भने, आमुन्ने- सामुन्ने बसेर बात मारिरहेजस्तो । र यस्तै केही गुण भएरै होला, उनी मेरा लागी पढेर नअघाइने, बारबार पढिरहुँ लाग्‍ने अनी पढिसकेर यसरी केही नलेखी नसक्ने लेखक हुन् ।

 

आकाशमुखीका नाममा:

आकाशमुखी मोहन मैनाली मौलिक कृती हैन ।  अनुवाद हो । निबन्धहरूको संग्रह हो । विभिन्न भाषाका नौ जना निबन्धकारहरूका निबन्धहरू सँगेटेर तयार गरिएको अनुदित कृति हो । नेपाली पाठकका लागी किताब केही नौलो हुन सक्छ । निबन्ध त्यसमा पनि अनुवाद । कति सम्म भने यसका मूल लेखकहरू नै नेपाली पाठकहरूका लागी नौला लाग्‍न सक्छने । एक दुइ जनालाई छाडेर । तर पनि ति नामै नसुनिएका लेखकहरूका निबन्धहरू पढ्दा पनि नौलोपन महसुश गर्नुपर्ने भने अवस्था चैँ आउँदैन । र यहि नै कुशल अनुवादकको मिठो अनुवादको विशेषता होला ।

निबन्ध बिधा आफैँमा एकैसाथ गहन, कठिन अनी शक्तीशाली विषय  हो । लेखक र पाठक दुबैका लागी । लेख्‍ने र पढ्ने दुबैका लागी । र हुनसक्छ आख्यानको तुलनामा कमै पढिने विषय पनि होला । हुनसक्छ आख्यान जति शक्तीशाली पनि नहोला । अथवा होला पनि । किनभने किताबकै एक अध्यायको एउटा अंशले पनि भन्छ 'उपन्यास जस्तै निबन्ध पनि साहित्यको त्यस्तो औजार हो, जसका सहायताले सबै विषयबारे सबै कुरा बताउन सकिन्छ ।' कमसेकम 'आकाशमुखी' पढुन्जेल त्यो बोध भने भइ नै रहन्छ ।

किताबले धेरै विषयहरूलाई धेरै तरिकाले समेटेको छ । फरक फरक विषय उठाएको छ । फरक फरक क्षेत्रलाई छोएको छ । गहन, हलुका,  संवेदनशिल र सम्भवतः कठिन जस्ता लाग्‍ने विषयहरूलाई पनि सरलिकृत गर्न खोजेको छ ।  अनुवाद नै सहि । कसरी पढ्ने देखी के पढ्ने, कसरी लेख्‍ने देखी कस्तो लेख्‍ने सम्म । अथवा शिक्षाको सार, उद्देश्य, महत्व देखी शिक्षा पाउनका सङ्घर्ष सम्म । महिला अधिकारका कुरा, पुरूषत्वका कुरा, समाजका कुरा, समानताका कुरा, प्रकृतिका कुरा, यात्राका कुरा, मनोयात्राका कुरा, निबन्धका कुरा, साहित्यका कुरा, विश्‍वका कुरा, भूगोल-इतिहासका कुरा । कति कुरा कति कुरा ।  संभवतः समाजका ति सर्वाङ्‍गिण विषयलाई समेट्ने गरी मैनालीले निबन्धहरू छानेका छन् । चलाखिपूर्वक छानेका छन् । र बान्की मिलाएर अनुवाद पनि गरेका छन् । त्यो पनि  सहज र सरल भाषामा । अनि किताबको शिर्षक यसरी राखेका छन् कि जमिनमा अडिएको पाठकको सोचलाई धरातलबाट थोरै उँभो उठाएर एकैछिन नै सहि आकाशमुखी हुन बाध्य बनाएका छन् ।

 

र अन्त्यमाः

यति कुरा लेखिसक्दा मैले आफूलाई केही हलुका महसुश गरेको छु । किताब पढ्नुको मज्जा आफ्नो ठाउँमा होला, रिफ्रेसमेन्ट फिल गरेँ त्यो  आफ्नै ठाउँमा होला,  किताबले दिएको ज्ञान, किताबले बुझाउन चाहेको र मैले बुझेको विषय आफ्नो ठाउँमा होला तर एकै पठनमा किताबले सिङ्गो मस्तिष्क रन्थनायो त्यो गज्जब थियो । हृदय सुम्सुम्याएको अनुभव गज्जब थियो । जसलाई समालोचनाका नाममा भन्दा पनि पठनानुभुतीको नाममा लेख्‍न आनन्द आओस् । र यो किताब र विशेष मेरा लागी मोहन मैनालीका किताबहरू अथवा लेखहरू त्यो अनुभुती दिलाउने ल्याकत राख्छन् । जहाँ किताबको दायाँ-बायाँ, तल-माथी, गुण-अवगुण बारे घोत्लिनै मौकै नमिलोस् । किताबले भुलाओस् । किताबमै भुलियोस् । र यो तिनै विशेषताका लागि समर्पित हो ।

-साहित्यपोस्ट २०७८/११/२६ मा प्रकाशित

Link: मोहन मैनालीका नाममा | साहित्यपोस्ट (sahityapost.com)

Friday, March 10, 2017

सामाजिक सञ्जालको सदुपयोग कि दुरुपयोग ?

युवामा फेसबुकमोह नराम्रो हो या राम्रो ? फेसबुकमा ‘अप टु डेट’ रहनु व्यक्तिगत फाइदा हो या बेफाइदा ? फेसबुकको उच्च प्रयोगले व्यक्तिलाई सामाजिक बनाउ“दै छ कि एकलका“टे ? फेसबुक, ट्वीटरलगायतका सञ्जालहरूबाट हामीले ज्ञान पाइरहेछौं या मूर्ख बनिरहेछौं भन्ने कुरा नै विवादित होला बहस गर्दा ।

Thursday, December 29, 2016

ट्राफिक जाम कहिलेसम्म ?

काठमाडौंमा ट्राफिक जाम हुनु नौलो कुरा होइन । वर्षौंदेखिको यो जाम उही र उस्तै, अझ संख्यात्मक रूपमा अभैm बढेर गइरहेको यथार्थ हाम्रो सामु छ । अझ बिहान र बेलुका (प्रायः कार्यालय छुट्टी हुने समयमा) यो झनै तीव्र रूपमा देख्न सकिन्छ । पा“च मिनेटको दूरी पार गर्न आधा÷एक घण्टा लाग्नु पनि कुनै नौलो कुरा हुन छाडेको छ, हिजोआज । अनि दिनानुदिन यो समस्या अभैm बढ्दै पनि गइरहेको छ । यात्रुवाहक बस, मालवाहक ट्रक, माइक्रो, टेम्पो, निजी सवारीहरू, स्कुल बस अथवा निजी मोटरसाइकलहरू, अझ सडक पेटीमा लम्किरहेका पैदल यात्रीहरूको चाप पनि त्यसमा जोड्ने हो भने सडकको अवस्था त्यो समय हेर्नलायक हुन्छ ।

Monday, April 11, 2016

वैदेशिक कमाइ लगानीको अवस्था

रेमिट्यान्सले मुलुकको दिगो विकास हुन्छ या हु“दैन भन्ने विषयमा एउटा बहस नै चल्न सक्ला । गाउ“को चर्को ऋण उतार्नलाई राम या श्याम विदेश गएर जीवन बदल्यो भन्दा पनि गलत तर्क नलाग्ला । सहरमा ठडिएका अधिकांश घरहरू बिदेशबाटै भित्रिएको पैसाले ठडिए अथवा नेपालका आधा जनसंख्या बा“च्नुमै वैदेशिक रोजगारीको हात छ अथवा गाउ“ सप्रिएको प्रसंगमा अथवा राष्ट्रको प्रमुख आमदानीकै रूपमा वैदेशिक रोजगारी र रेमिट्यान्सलाई गन्तीमा राख्दा पनि खासै अन्यथा नहोला । वैदेशिक रोजगारी अधिकांश नेपालीको प्रमुख पेसा बनिसकेको वर्तमान सन्दर्भमा माथि उल्लेख गरिएका प्रत्येक तर्क आ–आºनै ठाउ“मा शक्तिशाली पनि छन् । राष्ट्रको वर्तमान र भविष्य जोडिएको यो विषय विडम्बना र अवसर दुवै बनेर हामीमाँझ मडारिइरहेछ, स“गस“गै बनिरहेछ बाध्यात्मक पनि ।

Saturday, April 9, 2016

खुकुलो शैली तर खँदिलो प्रस्तुती : तादी किनारको गीत

गाउँको कथा लेख्ने लेखक पनि गाउँमै जन्मिएको हुनुपर्छ । नजन्मिए पनि हुर्किएको चैँ हुनुपर्छ । नहुर्किए पनि गाउँ बुझेको भने हुनैपर्छ । त्यहाँको समुदाय, संस्कार, रिति थितीका बारेमा अध्ययन गरेको हुनुपर्छ । एउटा अलग ठाउँमा जन्मिएको लेखकले अर्को अलग ठाउँको व्याख्या कसरी गर्छ होला ? देशको एउटा फरक भागबाट अर्को फरक भागको बारेमा के सोच बनाउँछ होला ?

Friday, April 8, 2016

कविता : एक दिन सबैको आउनेछ

एक दिन सबैको आऊनेछ,
जसरी ऊसको आएथ्यो,
त्यसरी नै तिम्रो पनि आऊनेछ, मेरो पनि आऊनेछ ।
हो साथी,
एक दिन सबैको आऊनेछ ।
ऊसको र मेरो सोच उस्तै थ्यो,
जसरी समानता छ तिमी र ममा ।
ऊसको र मेरो चाहना उस्तै थ्यो,
जसरी चाहन्छौँ तिमी र म सँगसँगै ।
उसले सोच्यो, पायो साथी,
ऊसले चाह्यो अनी पायो ।
तिमी र म त्यही लहरमा हिडौँ,
जुन रेखामा ऊ कुदेथ्यो ।
तिमी र म त्यही बेग पछ्याऊँ,
जुन बेगमा ऊ बत्तिएथ्यो ।
त्यो बिन्दु सबैले चुम्नेछ साथी,
जसरी ऊसले चुमेथ्यो,
त्यसरी नै एक दिन,
तिमी पनि चुम्नेछौ म पनि चुम्नेछु ।
तगारा सबैका छन् बाटाहरुमा,
मुस्किलले दम्भ लल्कार्छ ।
कठिनाईले सबैलाई कज्याइँरहेछ यहाँ,
शुन्यताले बैराग फलाक्छ ।
को छैन र यहाँ अनिदै बसेकाहरु ?
को छैन र यहाँ नउठ्दै खसेकाहरु ?
युद्ध हो साथी यो युद्ध हो,
समरका अथाह सैतानहरु दाह्रा धसेर बाटो ढुकिरहेका ।
के तिमीमा हिम्मत छैन र ?
हिम्मतले नै त हो आगो ओकल्ने ।
तिम्लाई आगोदेखि डर छ र साथी ?
एक बिहानी तिम्रो पनि आऊनेछ,
जहाँ उदाऊनेछ कलिलो सूर्य,
अनी सेक्नेछ तिम्रा अनगिन्ति घाऊहरुलाई,
जसरी ऊसका बसेका थे खाटाहरु ।
एऊटा फूल तिम्रो पनि फुल्नेछ,
जसले फैलाऊनेछ स्वादीलो मुस्कान ।
जसरी ऊसका मग्मगाएथे रहरहरु ।
एक दिन सबैको आऊनेछ,
जसरी ऊसको आएथ्यो,
त्यसरी नै तिम्रो पनि आऊनेछ, मेरो पनि आऊनेछ ।
हो साथी,
एक दिन सबैको आऊनेछ ।

कविता : बाँदर र शहर


t @mbaral312

आज,
बिहान के भएको थियो
बाँदरको चकचकीले
सारा शहर आक्रान्त बनायो ।
एउटा आयो, बच्चो चड्कायो,
अर्को आयो, मिठाई चप्कायो ।
एक पछि अर्को,
अनि
अर्को पछि अर्को,
आयो, उपद्रोले वस्ति थर्कायो ।
आज,
बिहान के भएको थियो,
बाँदरको चकचकीले
सारा शहर आक्रान्त बनायो ।
कुनै फौजी कमाण्ड जस्तो
कुनै अनुशासीत दस्ताजस्तो ,
मानौँ, उपद्रोको राज,
उपद्रोकै अर्डर ।
प्रत्येकले प्रत्येकको शिरोपर गर्दै ।
न सहिष्णुता, न आदर,
न दयाको भारी, न इमान्दारीताको कदर ।
सिर्फ धुर्त्याईँ , केवल फटाइँ ।
आज,
बिहान के भएको थियो,
बाँदरको चकचकीले
सारा शहर आक्रान्त बनायो ।